जनकपुरधाम । मधेश प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक तर्फको मत परिणाम आइसकेपछि १० दलले प्रदेशसभामा उपस्थिति जनाउने भएको हो ।
१०७ सिट रहेको मधेश प्रदेश सभामा प्रत्यक्षमा १५ सिट जितेको नेकपा एमालेले समानुपातिकमा ८ सिट थपेर २३ सिट प्राप्त गर्दै पहिलो दल बनेको छ ।
यस्तै, प्रत्यक्षमा १३ सिट जितेको कांग्रेसले समानुपातिकमा सबैभन्दा बढी ९ सिट जिते पनि २२ सिटसहित दोस्रो स्थानमा छ ।
२०७४ को निर्वाचनमा मधेशमा पहिलो दल बनेको जनता समाजवादी पार्टी(जसपा) नेपाल यसपाली प्रदेश सभामा तेस्रो दल बनेको छ । जसपाले प्रत्यक्षमा ९ र समानुपातिकमा ७ सहित १६ सिट जितेको छ ।
प्रत्यक्षमा ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा ७ सिट हासिल गरी १३ सिटसहित चौथो दल बन्दा लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा दुई गरी ९ सिट सहित पाँचौं दल भएको छ ।
मधेशमा माओवादीले प्रत्यक्ष र समानुपातिकमा चार÷चार गरी ८ सिट जितेको छ भने नेकपा (एकीकृत समाजवादी) ले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी सात सिट पाएको छ ।
प्रत्यक्षमा ६ सांसद स्वतन्त्र उम्मेदवारीबाट आएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्ष तर्फ नजितेपनि समानुपातिकतर्फ एक÷एक सिट जितेका छन् । मधेशमा दलको संख्या थपिए पछि प्रदेशसभा सचिवालयलाई कार्यालय व्यवस्थापनमा सकस भएको छ । भवन अभावमा थपिएको दलको लागि कार्यालय व्यवस्थापनमा समस्या भएको हो । एक÷एक सिट जितेका दलको लागि एउटै कोठामा संयुक्त रुपमा कार्यालय व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने मधेश प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले बताए । जनमत, राप्रपा र नागरिक उन्मुक्ती पार्टी मधेश प्रदेशमा थपिएको हो । अन्य सात दलको कार्यालय भने यथावत रहेको छ । थप भएको दलको लागि कार्यालय व्यवस्थापनमा समस्या रहेको सचिव यादवले बताए ।