जनकपुरधाम । मधेश प्रदेश बाल क्लव संजाल गठन गरिएको छ । सप्तरीको सुरुंगा नगरपालिका बाल क्लव संजालका सदस्य निरज साहको नेतृत्वमा ११ सदश्यीय तदर्थ समिति गठन गरिएको छ । बर्दिवासमा आयोजित पाँच दिवसीय प्रशिक्षण कार्यक्रममा आठ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी बाल क्लव संजाल गठन गरिएको हो ।
बाल अधिकारको क्षेत्रमा प्रदेश तहमा वकालत गर्नका लागि प्रदेश स्तरीय बाल क्लव संजाल गठन गरिएको छ । तदर्थ समितिको उपाध्यक्षमा आशा महतो, सचिवमा नुर मोहमद अन्सारी, सह–सचिवमा सरिता कुमारी यादव, कोषाध्यक्षमा रवानी मन्सुर रहेका छन् । सदस्यहरुमा यसोदा बुढाथोकी,कविता पासवान, रुकसना खातुन, दिया विश्वकर्मा र चन्दन कुमार यादव चयन भएका छन् ।
मधेश प्रदेश सरकारको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत झमकेश्वर ओझाले बधाई तथा शुभकामना मन्तव्य दिदै प्रदेश बाल क्लव संजाललाई प्रदेश सरकारको मातहतमा राख्न पहल गर्ने प्रतिबद्धता जनाए । साथै त्यसका लागि बाल संजालका तदर्थ समितिले पनि आवश्यक पहल गर्न आग्रह गरे । आसमान नेपालका कार्यक्रम व्यवस्थापक मनिराम आचार्यले बाल क्लवका नव गठित बाल संजाल तदर्थ समितिका सदश्यहरु बधाई तथा शुभकामान दिदै बाल क्लवले विगतका दिनहरुमा गरेका प्रयासले समाजमा देखिएका सकारात्मक परिवर्तन र बाल क्लवका पदाधिकारीहरुले पाएका अवसरहरु बारे समेत जानकारी गराएका थिए ।
धनुषा जिल्ला बाल क्लव संजालका पुर्व सदस्य रक्की प्रसाद साहले बाल क्लवका पदाधिकारीहरुलाई सकारात्मक विचारहरु जोड्न, मतभेद घटाउन, जिम्मेवारीलाई भाग लगाउदै अघि बढ्न आग्रह गरे । आगामी दिनहरुमा पनि प्रदेश बाल क्लव संजाललाई आवश्यक सहयोग तथा सहजीकरण गर्न आसमान नेपाल सदैव प्रतिबद्धत रहने आसमान नेपालका कार्यक्रम अधिकृत अमित यादवले बताए ।
उक्त प्रदेश स्तरीय बाल क्लव संजाल निर्माण गर्न सहजीकरण पाँच दिवसीय प्रशिक्षण कार्यक्रमका प्रशिक्षक मधेश प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका लैंगिक तथा सुचना अधिकृत झमकेश्वर ओझा, आसमान नेपालका कार्यक्रम व्यवस्थापक मनिराम आचार्य, आसमान नेपालका कार्यक्रम अधिकृत अमित यादव र पुर्व धनुषा जिल्ला बाल क्लब संजालका सदश्य साहले गरेका थिए । पाँच दिवसिय प्रशिक्षण कार्यक्रम सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा आसमान नेपालले आयोजना गरेको थियो । बाल अधिकार, बाल क्लव र संजालको आवश्यकता, लैंगिक सामावेशिकता, वकालत र वकालत गर्ने शैली, बाल क्लवले नेतृत्व गर्न सक्ने कार्यक्रम तथा अभियान जस्ता विषयमा पाँच दिवसीय प्रशिक्षण कार्यक्रममा जोड दिएको थियो ।