वीरगञ्ज । चालु आर्थिक वर्षको ५ महिनाको अवधिसम्म सशस्त्र प्रहरीले २२ करोड ६ लाख ८ हजार २ सय ८४ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार मधेश प्रदेशका आठ वटै जिल्लाका विभिन्न स्थानबाट उक्त मूल्य बराबरको अवैध सामाग्री बरामद गरिएको हो ।
चालु आर्थिक वर्षको मंसिर १८ गतेसम्मको अवधिमा उक्त मूल्य बराबरको अबैध सामाग्री बरामद गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेश ठाडामगरले जानकारी दिए । उनका अनुसार यसअघि आ.व. २०७८÷७९ मा ६३ करोड ६५ लाख ५९ हजार ६ सय २९ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरिएको थियो ।
चालु आर्थिक वर्षको हालसम्म ३६ लाख ५३ हजार ४ सय रुपैयाँ बराबरको चौपाया बरामद गरिएको छ । बितेको आर्थिक वर्षमा १ करोड २६ लाख ५२ हजार ८ सय २० रुपैयाँ बराबरको चौपाया बरामद गरिएको थियो ।
मधेश प्रदेशका आठ वटै जिल्लाका विभिन्न स्थानबाट चौपाया बरामद गरिएको डिआईजी ठाडामगरले बताए । उनले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर १८ गतेसम्मको अवधिमा ४० लाख १५ हजार १ सय ७५ रुपैयाँ बराबरको १ हजार ७ सय ३९.४ क्युबिक फिट अवैध काठ बरामद गरिएको छ ।
आ.व. २०७८÷७९ मा १ करोड ४३ लाख ५५ हजार ४७ रुपैयाँ बराबरको ४ हजार ५ सय ५१.५९ क्युबिक फिट अवैध काठ बरामद गरिएको थियो ।