जनकपुरधाम । मधेश प्रदेश सरकारले कक्षा ९ का छात्राहरुलाई झोलासँगै जिओमेट्री बोक्स वितरण गर्ने भएको छ । चालु शैक्षिक वर्षमै मधेश प्रदेशका ८६५२३ छात्रालाई झोला जिओमेट्र बोक्स वितरण गर्न लागेको हो । झोला र जिओमेट्री बोक्स खरिद प्रक्रिया अघि बढिसकेको हो । मधेश प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत रहेको शिक्षा विकास निर्देशनालयले यसै वर्ष झोलासँगै जिओमेट्री बोक्स वितरण गर्न लागेको हो । मधेश प्रदेशका आठ जिल्लामा कक्षा ९ मा ८६ हजार पाँच सय २३ छात्रा अध्ययनरत्त रहेका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत्त कक्षा ९ का सबै छात्राहरुलाई झोलासँगै जिओमेट्री बोक्स वितरण गर्ने तयारी भइरहेको शिक्षा विकास निर्देशनालयले जनाएको छ । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कक्षा १२ का छात्राहरुलाई ल्यापटप वितरण कार्यक्रम समेत राखेको छ । ल्यापटप मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान कार्यक्रम अन्तर्गत वितरण गरिने भएको छ । यसअघि मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत प्रदेशका कक्षा ८ मा अध्ययनरत्त छात्राहरुलाई साईकल वितरण गरेको थियो । बेटी पढाउ बेटी बचाउ कार्यक्रम हाल सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयले संचालन गर्दै आएको छ ।
निर्देशनालयले न्यु आनन्द ट्रेड हाउस प्रालीसँग चार करोड ९६ लाख ९३ हजार ६ सय ८२ रुपैयाँमा ज्योमेट्रिक बक्ससहितको ब्याग खरिद गर्न लागेको हो । सबैभन्दा कम कबोल गरेको भन्दै झोला किन्न लागेको निर्देशनालयले जानकारी दिएको छ ।
साइकल वितरण कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ । यसमा सम्बन्धित विद्यालयको सिफारिशमा विद्यार्थीको खातामा रकम पठाउने व्यवस्था गरिएको छ । यसअघि मुख्यमन्त्री कार्यालयले आफैं साइकल वितरण गर्दै आएको थियो ।
कक्षा १२ मा अध्ययनरत छात्राका लागि ल्यापटप वितरण योजना ल्याइएको छ । निर्देशनालयका अनुसार माघ मसान्तदेखि झोला वितरण कार्य शुरु हुनेछ ।