जनकपुरधाम । शान्तिका लागि साझा अभियान(Cocap)ले बुधबार जनकपुरका सरोकारबालासित शान्ति, न्याय र सवल संस्थाका लागि नागरिक समाज विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । सो अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशका नागरिक समाजको अवस्था अवरोधित रहेको टिप्पणी गरिएको छ ।
उक्त संस्थाले सार्वजनिक गरेको तथ्य अनुसार मधेश प्रदेश र प्रदेश नं. १ मा नागरिक समाजको अवस्था अवरोधित अवस्थामा रहेको तथ्य सार्वजनिक गरेको थियो । अन्य पाँच प्रदेशमा भने नागरिक समाजको अवस्था संकुचित रहेको छ ।
आयोजक संस्थाका परियोजना अधिकृत प्रदिप खतिवडाले मधेश प्रदेशमा नागरिक समाजको अवस्था कमजोर रहेको तथ्यहरुले देखाएको दावी गरे । उनले प्रस्तुत गरेको कार्यपत्रमा नागरिक समाजको अवस्था मधेश प्रदेश र प्रदेश नं. १ मा अवरोधित अवस्थामा रहेको बताइएको थियो ।
उनले प्रस्तुत गरेको कार्यपत्रमा सरोकारबालाहरुले टिप्पणी गर्दै मधेश प्रदेशमा सबै क्षेत्रमा राजनीतिक हावी रहेको बताइएको थियो ।
कानूनव्यवसायी रामविलास यादवले राजनीतिक दलका नेताहरुले सबै क्षेत्रमा हस्तक्षेप गर्दा समस्या आएको टिप्पणी गरे ।
आयोजक कोकेपका मधेश प्रदेश संयोजक रामउदेश महतोको अध्यक्षतामा भएको कार्यक्रममा कानुन व्यवसायी, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, संचारकर्मीहरुको उपस्थिति रहेको जिल्ला संयोजक सत्रुधन महतोले बताए ।