जनकपुरधाम । मर्यादा पुरुषोत्तम भगवान श्रीराम र आदर्श नारी जानकी बीच सोमबार साँझ बैदिक परमपरा अनुसार बैबाहिक कार्यक्रम गरेर विवाहपंचमी महोत्सव मनाइएको छ ।
जानकी मन्दिर परिसरमा सोमबार साँझ श्रद्धालुभक्तजनको उपस्थितिमा भगवान श्रीराम र सीता बीच बैबाहिक कार्यक्रम सम्पन्न गरिएको हो । भगवान र सीताको सांकेतिक किशोर किशोरीबीच बैबाहिक कार्यक्रम गरिएको छ ।
बैबाहिक कार्यक्रममा भगवान श्रीरामको अभिभावकको भूमिका राममन्दिरका महन्थ राम गिरी वैष्णव र सीताको अभिभावकको भूमिका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले निर्वाह गरेका थिए । जानकी मन्दिरका महन्थ दासले सीताको कन्यादान गरेका छन् । मंसिर शुक्ल पञ्चमी तिथिका दिन त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हर्षोल्लासका साथ विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।
बैबाहिक कार्यक्रम अघि साधुसन्तको अगुवाइमा झाँकी किर्तण, बाजागाजासहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयम्वर गरिने छ । दुवै डोला वाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्वर गर्ने प्रचलन छ । डोलाको दर्शन र रामसीताको सोयमम्बर हेर्न बाह्रविघा मैदानमा हजारांैको संख्यामा दर्शनार्थीको घुइँचो लागेको थियो ।
प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेता युगमा जुन प्रकारले राम र सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको भन्ने गरिन्छ, त्यसरी नै वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वंम्बर गरि वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन छ ।
राम र सीताको विवाहको लागि यसवर्ष पनि जानकी मन्दिरको प्रांगणमा आकर्षक विवाह मण्डप अर्थात मरबा बनाइएको थियो ।
वैवाहिक कार्यक्रममा झाँकी किर्तण सहित सांस्कृतिक कार्यक्रमहरुको समेत आयोजन गरिएकोछ । जसको अवलोकनको लागि हजारौं दर्शनार्थीहरुको जानकी मन्दिरमा भीड लागेको थियो ।
मंसिर ७ गतेबाट सुरु भएको सप्ताहव्यापरी विवाहपञ्चमी महोत्सवको पहिलोदिन नगर दर्शन, दोश्रो दिन फुलवारी लिला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौ दिन दिन मटकोर तथा पूजा कार्यक्रम सम्पन्न भइसकेको छ । आज सीतारामको विवाहको कार्यक्रम सम्पन्न भएपछि भोली रामकलेवा गरी जन्ती एवं साधुशन्तालाई विदाई गर्दै विधिवत रुपमा विवाहपञ्चमी महोत्सव समापन हुने छ ।
महोत्सवमा सहभागि हुन देशका विभिन्न स्थान तथा छिमेक देश भारतबाट आएका लाखौंको दर्शनार्थीले जनकपुर खचाखच भरिएको छ । विवाहपञ्चमीलाई मध्यनजर गर्दै जनकपुरमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
श्रद्धालुले शौचालय भेटेन्
सीताराम विवाहपंचमी महोत्सवमा मेला भर्न देश र विदेशबाट हजारौको संख्यामा श्रद्धालु भक्तजन जनकपुर आउने गरेका छन् । यसपाली पनि देशका विभिन्न जिल्लाहरुबाट हजारौको संख्यामा श्रद्धालुभक्तजन एक दिन अगावै जनकपुर आइपुगेका थिए । त्यतिकै संख्यामा छिमेकी राष्ट्र भारतबाट पनि श्रद्धालुभक्तजन जनकपुर आइपुगेका छन् । जनकपुरको जानकी मन्दिरमा दर्शन पूजा गर्न आउने हजारौ श्रद्धालुभक्तजन शौचालय अभावमा खुला क्षेत्रमा शौच गर्न बाध्य भए । केही वर्ष अगाडिसम्म जनप्रतिनिधिविहीन हुँदा सबै क्षेत्र अस्तव्यस्त भनेर सरोकारबाला निकाय पञ्छिने गरेको थियो । तीन तहको सरकारमा रहेका जनप्रतिनिधिहरु आप्mनो कार्यकाल पूरा गरेपछि उनीहरुको स्थानमा नव निर्वाचित जनप्रतिनिधिहरुले पनि जिम्मेवारी सम्हालिसकेको अवस्था छ । तर, जनकपुरको समस्या ज्यूकात्यू । आइबार साँझ नै जनकपुर आइपुगेका श्रद्धालुभक्तजन एकाबिहानैदेखि शौचालय खोजीमा भौतारिदै थिए । भारत पटनाबाट आएका एक पुरुष श्रद्धालुले शौचालय कहाँ छ भनेर सोध्दै हिडेका थिए । तर, रहेको शौचालयमा महिलाको लाइन थियो । पुरुषको लागि अर्को ठाउँमा शौचालय भेटनै मुस्किल । यस्तोमा उनी बाध्य भएर रंगभूमि मैदान बारहविग्हातिर लागेका थिए । उनी जस्ता सयौ श्रद्धालु शौचालय अभावमा खुला क्षेत्रमा शौच गर्न बाध्य भए । यस वर्ष पनि विवाहपंचमी महोत्सवको तयारी केही दिन अघिदेखि नै भइरहेको थियो । सरोकारबालाहरुले खानेपानी, शौचालय, सरसफाई, सुरक्षा लगायतको व्यवस्थापनको जिम्मेवारी लिएका थिए । तर, उनीहरुको जिम्मेवारी जानकी मन्दिरमा पुगेर धोतीको पगडी बाँध्नमै सीमित देखियो ।