जनकपुरधाम । धनुषा–२ मा आरोपप्रत्यारोपको दौड शुरु भएको छ । मतगणनामा निर्वाचन अधिकृतले धांधली गरेको आरोप लगाएर सडकमा उत्रेका नेकपा एमाले उम्मेदवार उमाशंकर अरगरिया विरुद्ध निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादवले आइतबार पत्रकार सम्मेलन गरेर अरगरियाको काउण्टर गरेका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामकृष्ण यादवले चुनाव हारेका उम्मेदवारले भ्रम फैलाइरहेको बताएका छन् ।
प्रतिनिधिसभामा पराजित नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले मत परिणामबारे भ्रम फैलाएको उनले बताएका हुन् ।
मतगणना सर्वपक्षीय बैठकको निर्णय अनुसार नै गणना भएको उनले जिकिर गरे । ’फरक मतपेटिकामा फरक मतपत्र भेटिए त्यो मत बदर हुने सर्वपक्षीय बैठककै निर्णय छ,’ उनले स्पष्ट गर्दै भने,’तर नेकपा एमालेका उम्मेदवारले हार स्वीकार गर्न नसकेर आफूविरुद्ध कु–प्रचार गरिरहेका छन्। त्यसमा कुनै सत्यता छैन्, त्यो मिथ्या हो ।’
मत गणनाको अन्तिम समयमा केही व्यक्तीले विवाद गर्न थालेपछि पुनः सर्वपक्षीय बैठकबाट निर्णय गरी दुई ठाउँमा मत गणना सुरु गरिएको निर्वाचित रामकृष्णको भनाइ छ । उम्मेदवारसँग जोडेर निर्वाचन अधिकृत माथि आरोप लगाउनु जनअभिमत र लोकतन्त्र विरोधी कार्य भइरहेको उनले बताए ।
प्रतिनिधिसभाको मतपत्र प्रदेशसभा र सामानुपातिक मतपेटिकामा कर्मचारीको लापरवाहीले गएको उमाशंकर अरगरियाको आरोप छ। र, यस्ता मतपत्र सदर भए गणना गर्नु पर्ने उनको माग। जसको लागि उनले पुनः गणनाको माग गरेका छन्। तर रामकृष्ण यादवले फरक मतपेटिकामा भेटिएको फरक मतपत्रमा आफ्नो पनि मत रहेको उल्लेख गर्दै बदर गर्ने सहमती भइसकेको मत गणना गर्नुको औचित्य नरहेको बताउँछन्।
’सुरुदेखि एमालेको मत बढ्दै जादा अरगरिया केही बोलेनन् तर अन्तिममा मेरो अग्रता देखेपछि उनले बाहाना बनाएर मतगणना कार्य नै रोक्न खोजेको थियो,’ उनले भने,’तर निर्वाचन अधिकृतले सहमति अनुसार मतगणना सम्पन्न गरेर नतिजा घोषणा गरेको हो।’
मंसिर ४ गते मतदान सम्पन्न भएपछि ५ गते साझ ६ बजेदेखि मतगणना सुरु भएको थियो। निर्वाचन अधिकृत कार्यलयले मतगणनाको अन्तिम परिणाम ९ गते विहान सर्वजनिक गरेका थिए। रामकृष्णले २० हजार ११२ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमाशकर अरगरिया १९ हजार ९५५ मत ल्याएर पराजित भएको निर्वाचन कार्यालयले जनाएको छ। रामकृष्ण र उमाशंकरबीच १५७ को मतान्तर मात्रै छ ।