वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राजकुमार गुप्ताले पाँच दिनपछि प्रमाणपत्र प्राप्त गरेका छन् ।
गुप्तालाई गएको मंसिर ७ गते नै पर्सा–३ बाट निर्वाचित घोषणा गरेपनि विवादका कारण प्रमाणपत्र भने दिएको थिएन् ।
उनका निकटतम प्रतिद्वन्दीले विवाद झिकेपछि प्रमाणपत्र प्रदान गरिएको थिएन् । विवाद साम्य भएपछि आइतबार निर्वाचन अधिकृतको कार्यालयले गुप्तालाई प्रमाणपत्र प्रदान गरेको हो ।
प्रत्यक्ष तर्फको गणना पश्चात समानुपातिक तर्फको मतपेटिकामा पनि भुलवस खसेको प्रत्यक्ष मतलाई गणना गरेपछि आफ्नो निकटतम प्रतिद्वन्द्वीभन्दा १ सय ६७ मतले अगाडि रहेका गुप्तालाई निर्वाचित भएको आधिकारिक प्रमाणपत्र प्रदान गरिएको हो ।
आइतबार मतगणना स्थल पोखरियास्थित श्री नेपाल उच्चाङ्कल उच्च माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का मुख्य निर्वाचन अधिकृत योगनाथ ढकालले गुप्तालाई निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गरेका छन् ।
निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक तर्फको मतपेटिकामा समेत भेटिएको प्रत्यक्ष तर्फको मतलाई गणना गरेर उपलब्ध गराएको अन्तिम परिणाम अनुसार गुप्ताले २२ हजार ६०७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले २२ हजार ४७६ मत प्राप्त गरेका छन् ।
निर्वाचनको दिन खसेको मतभन्दा मतगणनाका क्रममा केहि मतपत्र कम भेटिएको भन्दै नेपाली कांग्रेसले पुनः गणनाको माग गरेको थियो । कांग्रेसबाट पराजित चौधरीले मतगणनाका क्रममा निर्वाचनको दिन खसेको मत भन्दा २ सय ७२ वटा मतपत्र कम गणना गरिएको आरोप लगाउँदै पुनः गणनाको माग गर्दै निर्वाचन आयोगमा निवेदनसमेत दिएका थिए ।
घटेको प्रत्यक्ष तर्फको मतपत्र समानुपातिकको मतपेटिकामा पनि हुनसक्ने भएकोले समानुपातिकको मतपेटिकामा भेटिएको १ सय ५५ मतलाई गणना गर्दा पनि गुप्ता अगाडि देखिएका थिए । त्यहाँ भेटिएको १ सय ५५ मतमा गुप्ताले ५९, चौधरीले ४३, नेपाल सुशासन पार्टीका राजकुमार यादवले २२ मत ल्याएका थिए ।
आधिकारिक प्रमाणपत्र ग्रहण गरेपश्चात सञ्चारकर्मीहरुसँग बोल्दै गुप्ताले आफूलाई दुःख दिने षडयन्त्रकारीहरुको योजना असफल भएको बताए । पराजित मानसिकताबाट ग्रसित केही व्यक्तिहरुले हार स्वीकार नगर्न सकेपछि आफूलाई दुःख मात्र दिएको बताउँदै गुप्ताले अब पर्सा–३ मा आफूले विकासको लहर ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
गएको बुधबार अवेर राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार गुप्ताले २४ हजार २६० मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी चौधरीले २४ हजार १०९ मत पाएका छन् ।
मतगणनाको सुरुवातदेखि चौधरीले अग्रता लिएपनि अन्तिम समयमा आएर गुप्ताले मतान्तर घटाउँदै गएका थिए ।
गुप्ता र चौधरी यसअघि २०७४ मा यसै क्षेत्रबाट तत्कालिन संघीय समाजवादी फोरम नेपालका हरिनारायण रौनियारसँग पराजित भएका थिए ।
यद्दपी यस पटक जसपा–एमालेले गठबन्धनका कारण पर्सा–३ एमालेको भागमा परेपछि जसपाले प्रदेशसभामा आफ्नो उम्मेदवार लडाएको थियो ।
गुप्ता दोस्रो संविधान सभाको निर्वाचनमा पर्सा–३ बाट निर्वाचित भएका थिए भने चौधरी पर्सा–४ बाट निर्वाचित भएका थिए ।