जनकपुरधाम । रौतहटको कटहरिया बजारमा दुई दलका कार्यकर्ताबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
बुधबारराति दुई दलका कार्यकर्ता झडपमा उत्रिएपछि अवस्था नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर गर्नुका साथै २ सेल अश्रुग्यास प्रहार गरिएको प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए ।
घटनामा स्थानीय र प्रहरीलाई सामान्य चोटपटक लागेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । एकजना उम्मेदवारले मतदातालाई वितरण गर्न भारतबाट मदिरा ल्याइएको विषयमा विवाद भएको थियो । अर्का दलका कार्यकर्ताले नियन्त्रणमा लिन खोज्दा बुधबार राति विवाद झडपमा परिणत भएको थियो ।
मदिरा सहित भनिएको गाडी घटनास्थलबाट प्रस्थान गरेपछि युवाले प्रहरीमाथि ढुंगामुढा गरेको बताइएको छ । यता, धनुषा प्रहरीले ठूलो मात्रामा अवैध मदिरा बरामद गरेको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावलाई लक्षित गरी मदिरा बिक्री वितरण, ओसार तथा सेवनमा निषेध गरेको छ । निषेध गरिएको अवधिमा धनुषा प्रहरीले एक ट्रक मदिरा बरामद गरेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
जनकपुरधाम उप महानगरपालिका वडा नंं २२ बसविट्टीबाट ना ६ ख ६४५३ नम्बरको ट्रकबाट कर्णाली गोल्ड नामक सोफी १ हजार २५ कार्टुन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले गाडीलाई रोकेर चेकजाँच गर्दा सो परिमाणको मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मदिरा र ट्रकसहित मकवानपुरको मनहरी गाउँपालिका वडा नंं ३ बस्ने चालक वर्ष ३४ का निर्मल कुमार रिजाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सहितको ट्रक र चालकलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा बुझाइएको छ ।
यस्तै, प्रहरीले धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका वडा नंं ४ तुल्सियाहीबाट बी.आर.०७ पी.ए.४५३९ नम्बरको भारतीय स्कार्पियोबाट ४ कार्टुन गोल्डेन ओके र व्रिच नामक बियर एक बोरा बरामद गरेको छ ।
गाडी चालक मुखियापट्टी मुसहर्निया वडा नंं ४ बस्ने वर्ष ३० को साहजन यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
बरामद मदिरा र गाडीसहित चालक साहलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय धनुषाको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
धनुषा जिल्लामा गत साताको शनिवारदेखि नै मदिराको विक्री वितरण, ओसार पसार तथा सेवनमा निषेध गरेको छ ।