जनकपुरधाम । यही मंसिर ४ गते आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि बिहीबार (आज) मध्यरातिबाट शुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मौन अवधि बिहीबार मध्यराति १२ बजेबाट शुरु हुनेछ ।
मौन अवधि शुरु भएपछि मतदान नसकिएसम्म निर्वाचन प्रचार प्रसार गर्न र कुनै पनि माध्यमबाट भोट माग्न पाइँदैन् । एसएमएस, भाइबर, फेसबुक लगायत कुनै पनि माध्यमबाट भोट माग्न नपाइने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा चुनाव प्रचार गरेमा वा कसैले भोट मागेमा एक लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी रद्ध गर्नेसम्म अधिकार निर्वाचन आयोगलाई छ ।
साथै मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिहृन र प्रचार सामग्री पनि दलहरुले हटाएको हुनुपर्ने आयोगले जनाएको छ ।
बिहीबार मध्यरातपछि भोट माग्न नपाइने भएकाले दलहरु बिहीबार (आज) अन्तिम दिनको चुनाव प्रचारमा व्यस्त छन् । उनीहरुलाई मतदातासम्म पुग्न भ्याइनभ्याइ छ । दलका नेताहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा परिचालित छन् ।