जनकपुरधाम । आइतबार हुन लागेको आमचुनावमा नेपाल रेल तीन दिन बन्द हुने भएको छ । शुक्रबारदेखि आइतबारसम्म रेल सेवा बन्द रह्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले बताए ।
स्थानीय प्रशासनले निर्वाचनको ७२ घण्टा अघिदेखि सीमानाका बन्द गर्ने निर्णय गरेकोले रेल पनि बन्द गर्नुपर्ने भएको झाले बताए ।
निर्वाचनको भोलीपल्ट मंसिर ५ गतेदेखि रेल पुरानै समयानुसार संचालन हुने झाले बताए । अहिले रेल दिनको दुई पटक जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म आवत जावत गर्दै आएको छ ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भारतसँग जोडिएको मधेश प्रदेशको सीमानाका बन्द गर्न लागिएको हो ।
मंसिर १ गते बिहिबार मध्यरातिबाट मतदान सम्पन्न नभएसम्म भारतको सीमासँग जोडिएको धनुषाको सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
निर्वाचन स्वच्छ, निश्पछ, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि स्थानीय प्रशासन ऐन २०२८ बमोजिम विभिन्न निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
सीमानाका बन्दसँगै निर्वाचनको दिन दमकल, शववाहन, एम्बुलेन्स, खानेपानी ट्यांकर, दुरसञ्चार सेवा, अस्पताल सेवा लगायत अति आवश्यक सेवा र अनुमति प्राप्त गाडी बाहेक अन्य गाडी सञ्चालन गर्न नदिने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
२ गतेदेखि विद्यालय बन्द
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मंसिर २ गतेदेखि विद्यालयमा बिदा हुने भएको छ ।
मंसिर २ देखि ५ गतेसम्म देशभरका सबै विद्यालयमा बिदा दिनुपर्ने निर्वाचन आयोगको सिफारिस अनुसार सरकारले विदा घोषणा गरेको हो । निर्वाचन केन्द्र रहेका विद्यालय मतदानस्थलको रूपमा प्रयोग गर्नुपर्ने भएकाले बिदाका लागि आयोगले सिफारिस गरेको थियो । सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायमा दुई दिन विदा दिने भएको छ ।
गृह मन्त्रालयले मंगलबार एक सूचनामार्फत् आगामी मङ्सिर ४ र ५ गते सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा प्रकाशित उक्त सूचनामा मतदानस्थल रहेका शिक्षण संस्था वा विद्यालयमा भने मङ्सिर २ देखि ५ गतेसम्म विदा दिइएको छ ।
निर्वाचन आयोगले यसअघि नै निर्वाचनमा बढीभन्दा बढी सहभागिता रहोस् भनेर सार्वजनिक विदा दिन सरकारलाई आग्रह गरेको थियो ।
यसैबीच त्रिभुवन विश्वविद्यालयले पनि आगामी मङ्सिर १ देखि ५ गतेसम्म विश्वविद्यालयका सबै क्याम्पस र कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । विश्वविद्यालयका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको छ ।
कतिपय क्याम्पसमा मतगणना केन्द्रसमेत राखिएको हुँदा विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने देखिएकाले विदा दिने निर्णय गरिएको विश्वविद्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।
यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पनि मतदानका दिन आन्तरिक उडानतर्फ नियमित उडान नहुने जनाएको छ । सो कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आन्तरिकतर्फका नियमित उडान हुनेछैन । यद्यपि चार्टर उडान भने हुनेछ ।