जनकपुरधाम । सीताराम विवाहपंचमी महोत्सवको अवसरमा भारतका ख्याती प्राप्त धर्मगुरु सतपाल महाराज जनकपुर आउने भएका छन् । भारत उत्तराखण्ड राज्यका पर्यटन मन्त्री समेत रहेका सतपाल सिंह रावत ‘सतपाल महाराज’ मंसिर १२ गते जनकपुर आउने भएका छन् । विवाह पञ्चमी महोत्सवमा सहभागी हुन भारतीय जनता पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सन्त सतपाल महाराजसँगै साधुसन्तको लस्कर जनकपुरधाम आउन लागेको जानकी मन्दिरले जनाएको छ । सतपाल महाजार विवाहपंचमी महोत्सवमा भगवान श्रीराम पक्षबाट जन्तीको अगुवाई गरेर जनकपुर आउन लागेका हुन् ।
उत्तराखण्ड सरकारमा सतपाल महाराजले झण्डै १० वटा मन्त्रालयको कार्यभार सम्हालेका छन् । सतपाल महाराजले उत्तराखण्डको निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
सतपाल महराजको भ्रमणले मधेश प्रदेशको राजधानी जनकपुरधाम र भारतको उत्तराखण्डबीच धार्मिक, सांस्कृतिक सम्बन्ध विस्तारमा मद्दत मिल्ने छ । यता हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको श्री सीताराम विवाह पञ्चमी महोत्सवको तयारी जनकपुरधाममा तीव्र पारिएको छ ।
त्रेता युगमा मर्यादा पुरुषोतम भगवान राम र जगत जननी माता जानकीबीच भएको विवाहको स्मरणमा यही मंसिर ७ गतेदेखि सुरु हुने रामजानकी विवाह पञ्चमीको तयारी सुरु भएको हो ।
रामजानकी विवाह पञ्चमीलाई भव्य रुपमा मनाउने तयारी गरिएको जानकी मन्दिरले जनाएको छ ।
अतिथि आमन्त्रण तथा भारतबाट जयन्तीलाई निम्त्याउने कार्य भइरहेको बताइएको छ । शौचालय, खानेपानी र सरसफाइका लागि स्थानीय सरकारसँग पनि छलफल जारी रहेको बताउँदै सुरक्षा र सवारी व्यवस्थापनका लागि सुरक्षा निकायलाई आग्रह गरिएको छ ।
मिथिलाको उत्सवमध्ये विवाह पञ्चमीलाई महामहोत्सवका रूपमा भव्यताका साथ मनाउने गरिन्छ । त्रेतायुगमा भगवान् राम र सीताको विवाह भएको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव मनाइँदै आइएको छ ।
महोत्सव अन्तर्गत मंसिर ७ गते पहिलो दिन नगर दर्शन, दोस्रो दिन ८ गते फूलवारी लीला, तेस्रो दिन ९ गते धनुषयज्ञ, चौथो दिन १० गते तिलकोत्सव, पाँचौ दिन मंसिर ११ गते मटकोर, छौटौं दिन मंसिर १२ गते स्वयंवर र सातौं तथा अन्तिम दिन मंसिर १३ गते रामकलेवा गरी यसवर्षको सीताराम विवाहपञ्चमी सम्पन्न हुनेछ ।