सर्लाहीका कांग्रेसीले विपक्षीलाई सघाएको आरोप, २३ लाई स्पष्टिकरण
मलंगवा । चुनावको ६ दिन मात्र बाँकी रहदा सर्लाहीमा नेपाली कांग्रेसका नेताहरुले विपक्षीलाई सहयोग गरेको आरोप लागेको छ । सर्लाही–४ मा एकैपटक नेपाली कांग्रेसका २३ जना नेतासँग जिल्ला अनुशासन समितिले स्पष्टिकरण मागेको छ ।
जिल्ला उपसभापति एवं जिल्ला अनुशासन समितिका संयोजक डा. सरोज कुमारले पत्र काट्दै २३ जना नेतालाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएका छन् । पत्रमा ती २३ जना नेताले आधिकारिक उम्मेदवारविरुद्ध विपक्षीलाई सहयोग हुने गरी कार्य गरेको आरोप लगाइएको छ । स्पष्टीकरण सोधिएका नेतामा बलरा नगरपालिका–९, का रविनन्दन चौधरी, बलरा २ का क्षेत्रीय प्रतिनिधि कांशिकान्त सिंह, बलरा ७ का वडाध्यक्ष प्रवीणकुमार सिंह, रोहुवाका वडा सभापति उदय झा लगायत छन् ।
स्रोतका अनुसार उनीहरु नेपाली कांग्रेसका बागी उम्मेदवार डा. अमरेशकुमार सिंहको पक्षमा खुलेका छन् । क्षेत्र नं. ४ मा कांग्रेसले पूर्व जिल्ला सभापति नागेन्द्र कुमार रायलाई टिकट दिइ चुनावी मैदानमा उतारेको छ । निवर्तमान संघीय सांसद सिंह बागी उम्मेदवारी दिँदै स्वतन्त्रबाट प्रतिस्पर्धामा छन् ।
सर्लाही–४ मा कांग्रेस भित्र नै एक गुटले अर्को गुटलाई सिध्याउने गरी लागि परिरहेको छ । अहिले स्पष्टिकरण सोधिएका २३ जना नेता संस्थापन इतर पक्षका हुन् । सो क्षेत्रमा संस्थापन पक्षका जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह र उनका सहोदर भाई मधेश प्रदेश उपसभापति वीरेन्द्रप्रसाद सिंह शेखर कोइराला समूहका डा. अमरेशकुमार सिंहविरुद्ध खरो रुपमा उत्रिएका छन् । डा. सिंहलाई संस्थापन पक्षका जिल्ला सभापति सुरेन्द्र र प्रदेश उपसभापति वीरेन्द्रले केही समय अघि सम्पन्न केन्द्रीय महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमै आउन दिएका थिएनन् ।
यता नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. १ ले पार्टीका पूर्व आमन्त्रित केन्द्रिय सदस्य एवं नेपाल सरकारका पूर्व पशुपंक्षी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठलाई दोस्रो पटक कारवाहीको सिफारिस गरेको छ ।
केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत रहेका श्रेष्ठले क्षेत्रीय कार्य समितिको निर्देशनलाई बेवास्ता गर्दै गठवन्धनका उम्मेदवारलाई सहयोग नगरेको, बरु उल्टै स्वतन्त्र उम्मेदवारको प्रचारप्रसारमा सरिक भएको आरोप लगाउँदै दोस्रो पटक कारवाहीको सिफारिस गरेको हो । क्षेत्र नं. १ का क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीद्वारा हस्ताक्षरित कारवाहीको सिफारिस पत्र पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रकै अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानालाई बुझाइएको छ ।
पत्रमा कांग्रेसको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको उल्लेख छ । क्षेत्रीय समितिको पत्र बुझ्दै केन्द्रीय अनुशासन समितिका संयोजक ढुंगानाले कसैलाई पनि पार्टीको निर्णय विरुद्ध लाग्ने छुट नरहेको र यदी निर्णयको अवज्ञा गरे विधान बमोजिम कारवाही हुने बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षका श्रेष्ठलाई गठवन्धनको पक्षमा लाग्न सचेत गराउँदै संस्थापन इतर पक्षको बर्चश्व रहेको क्षेत्र नं. १ को क्षेत्रीय कार्य समितिले केही दिनअघि पनि पहिलो पटक पत्र काटेको थियो । नेता श्रेष्ठले पनि पहिलो पत्रको जवाफ फर्काउँदै स्थानीय तह निर्वाचनमा अन्तरघात गर्नेहरुले आफूलाई कारवाहीको सिफारिस गर्नु उचित नभएको उल्लेख गरेका थिए । नेता श्रेष्ठ सर्लाही क्षेत्र नं. १ मा उम्मेदवारको आकांक्षी थिए । अन्तिममा लोसपासँग गठवन्धन भएपछि यस क्षेत्रमा सत्ता गठवन्धनको तर्फबाट लोसपाका रामप्रकाश चौधरीले टिकट पाएका छन् ।
श्रेष्ठले क्षेत्र नम्बर १ मा एमालेबाट बागी स्वतन्त्र उम्मेद्वार मान बहादुर खड्का, १ क मा माओवादीका रामचन्द्र सिंह कुशवाहा र ख मा माओवादीका बागी उम्मेद्वार राजन श्रेष्ठलाई सहयोग गरेको आरोप लाग्दै आएको छ ।