जनकपुरधाम । चुनावको तिथि नजिकिदै जाँदा धनुषा–३ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा धनुषा—३ मा मुख्यरूपमा पाँचदलीय गठबन्धन र विपक्षी गठबन्धन नेकपा (एमाले)बीच प्रतिस्पर्धा देखिएको छ । मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम पनि धनुषा–३ मै छ । जातीय समीकरणका बीच राजनीतिक विरासत समेत रहेको यो क्षेत्र दुवैको लागि प्रतिष्ठाको विषय बनेको हो । वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई नेपाली कांग्रेसका पूर्व उसपभाति बिमलेन्द्र निधिको साथ छ भने एमाले नेतृ महतोले दोश्रो पटकमा जित निकाल्ने दाउमा छिन् । यसअघि २०७० को निर्वाचनमा उनी नेता निधिसित पराजित भएकी थिइन् । नेता निधि प्रतिस्पर्धी नरहेकाले जित निकाल्न सहज हुने आकंलन महतो पक्षको हो ।
धनुषाको यो निर्वाचन क्षेत्रबाट यसअघि लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो निर्वाचित भएका थिए ।
आसन्न निर्वाचनमा पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झा र विपक्षी गठबन्धन एमालेबाट नेतृ जुलीकुमारी महतो चुनावी प्रतिस्पर्धामा छन् ।
एमाले उम्मेदवार महतो विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नेता निधिसँग पराजित भएका थिए भने २०७४ मा समानुपातिक सांसदमा निर्वाचित भएकी थिइन् । २०७४ का दुई बलिया प्रतिस्पर्धी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र कांग्रेस नेता निधि यसपटक यो क्षेत्रको प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा छैन् । २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट महतोले कांग्रेस नेता निधिलाई पराजित गरेका थिए । निधि यसपटक समानुपातिक रोजेका छन् भने महतो गृहजिल्ला सर्लाही–२ बाट उम्मेदवारी दिएका छन् ।
यस्तै सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका झा २०७४ को निर्वाचनमा रौतहट–१ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । यसपटक पाँचदलीय भागबण्डामा रौतहट–१ मा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल उम्मेदवार बनेपछि झाले धनुषा–३ मा उम्मेदवारी दिएका हुन् ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा सत्ता गठबन्धनको अवस्था बलियो देखिएको छ । धनुषा क्षेत्र नं ३ मा जनकपुरधाम उपमहानगरपालिकाका १७ सहित जम्मा ३८ वटा वडा पर्छन् । जनकपुरधामबाहेक नगराइन नगरपालिकाको सबै नौवटा वडा, मुखियापट्टि मुसहरनिया गाउँपालिकाको सबै छवटा वडा, धनौजी गाउँपालिकाको सबै पाँचवटा वडा र विदेह नगरपालिकाको एउटा वडा यस निर्वाचन क्षेत्रमा पर्छ ।
क्षेत्रभित्रको ३८ मध्ये आधा अर्थात् १९ वटा वडा एक्लै नेपाली कांग्रेसले जितेको छ । दोस्रो स्थानमा एमालेले ११, जसपाले चार, लोसपाले तीन र एकीकृत समाजवादीले एक वडामा जित निकालेको छ । स्थानीय चुनावमा ३८ वटा वडाको वडाध्यक्षले पाएको मतअनुसार कांग्रेसको २२ हजार चार सय २९ मत छ । दोस्रोमा एमालेको १६ हजार १६ मत छ । जसपाले आठ हजार दुई सय २४ र लोसपाले एक हजार एक सय ६३ मत प्राप्त गरेको छ ।
त्यस्तै एकीकृत समाजवादीले तीन हजार सात सय १३ र सबैभन्दा कम नेकपा (माओवादी केन्द्र)ले छ सय ५६ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङ्कमा छ । एमालेका तर्फबाट उम्मेदवार बनेकी महतोले यस क्षेत्रको विकास, समृद्धि र सुशासन नै आफ्नो प्राथमिकता रहेको बताए । उनीले जनताले विश्वास गरेको पार्टी र आफू जनताले विश्वास गरेको उम्मेदवार भएको दाबी गरे ।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेका झाले आफूहरूको मुख्य मुद्दा सङ्घीयतालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनकपुरधामलाई मधेस प्रदेशको राजधानी बनाउन आफ्नो महत्वपूर्ण योगदान रहेको र राजधानीको योजनाबद्ध विकास नै आफ्नो प्राथमिकता रहेको बताए ।