गौर । रौतहट प्रहरीले इँटा उद्योगमा अलपत्र रहेका ३८ जना भारतीय नागरिकलाई उद्धार गरेको छ । रौतहटको परोहा नगरपालिका ४ स्थित अमन इँटा उद्योगमा अलपत्र रहेका भारतको उत्तर प्रदेशका ३८ जना नागरिकलाई रौतहट प्रहरीले बुधबार राति उद्धार गरेको हो ।
उद्धार गरिएका ३८ मध्ये १८ जना महिला रहेका छन् । इँटा उद्योगमा तीन दर्जनभन्दा बढी भारतीय अलपत्र परिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बुधबार राति उद्धार गरिएका भारतीयहरुलाई बिहीबार भारत बिहारको सीतामढी जिल्लाको बैरगनियामा रहेको एसएसबिलाई जिम्मा लगाइएको छ ।
उद्धार गरिएका भारतीयहरु उत्तर प्रदेशको समत अलियारपुर जिल्लाका बासिन्दा रहेका छन् । भारतको उत्तर प्रदेशका विभिन्न जिल्लाबाट रौतहटका इँटा उद्योगमा सयौँ महिला पुरुष कार्यरत रहने गरेका छन् । इँटा उद्योग संचालन हुने समय आउँदा भारतीय मजदुरहरु रौतहटका विभिन्न इँटा उद्योगमा आउन थालेका छन् ।