गौशाला । महोत्तरी–१ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार लक्ष्मी महतोले आफूलाई मत नदिनेलाई चुनावपछि देखाइदिने भन्दै मतदातालाई धम्की दिएका छन् ।
गौशालास्थित एक स्थानीय रेडियोमा मैथिली भाषामा अन्तर्वार्ता दिने क्रममा उनले आफूलाई मत नदिने मतदातालाई पिटिदिनेसम्मको धम्की दिएका हुन् ।
एफएमबाटे धम्की दिएको उजुरी परेपछि निर्वाचन आयोगले उम्मेदवार महतोलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।
उनलाई निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को (थ) मा ‘निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्नेगरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने’ व्यवस्था रहेको भन्दै आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको हो ।
आयोगले महतोलाई स्थानीय रेडियोमार्फत मतदातालाई लक्षित गरी धम्कीपूर्ण भाषा बोलेकोमा स्पष्टीकरण सोधिएको जनाएको छ ।
महतो जनता समाजवादी पार्टी नेपाल (जसपा) मा टिकट नपाएपछि एमाले प्रवेश गरेका थिए ।
प्रवेश गरेलगत्तै एमालेका सचिव रघुवीर महासेठले उनलाई टिकट दिएर महोत्तरी–१ बाट उम्मेदवार बनाएका थिए ।