सर्लाही । मंसिर ४ गते हुन लागेको आमनिर्वाचन नजिकिदै जाँदा उम्मेदवारहरुले चुनावी अभियानलाई तीव्रता दिएका छन् । मतदातासित प्रत्यक्ष भेटघाट गर्नको लागि उम्मेदवारहरुले दैनिक घरदैलो कार्यक्रम गर्दै आएका छन् ।
सर्लाही–४(क)बाट प्रदेश सभा सदस्यका उम्मेदवार मधेश प्रदेश सरकारका निवर्तमान महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिंहले पनि आफ्नो चुनावी अभियानलाई तीव्र पारेका छन् ।
मतदातासँग प्रत्यक्ष भेटघाट गरेर आफ्नो एजेन्डाको बारेमा जानकारी गराउन उनी अहिले घरदैलो अभियानलाई तीव्रता दिएका हुन् । उनले आफ्नो क्षेत्रलाई विकसित र समृद्ध बनाउन गरेको परिकल्पनालाई पुरा गर्न आफुलाई सहयोग गर्नको लागि आग्रह गरेका छन् । यसअघि सिंह यसै क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए । सर्लाही–४(क) मा जनताको चाहना अनुसार शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार निर्माण, खेलकुदको विकास लगायत सबै क्षेत्रमा जनताको मन जित्ने गरी काम गरेको उनले बताए ।
अझै थुप्रै कामहरु गर्न बाँकी रहेकोले बाँकी काम पुरा गर्न आफना पक्षमा एकपटक फेरी मतदान गरी आफुलाई सहयोग गर्नको लागि उनले क्षेत्र–४(क) का जनताहरु सँग आग्रह गरेका छन् । साथै उनले समृद्ध क्षेत्र बनाउन बाँकी रहेका योजनाहरुलाई पुरा गर्दै जनभावना अनुसार अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।
आफुले विगत पाँच वर्षमा गरेको कामको मुल्यांकन गरेर आम जनताको आफुप्रति ठुलो साथ र सहयोग रहेकोले आउँदो निर्वाचनमा आफनो जित कसैले रोक्न नसक्ने उनले दावी गरे । सिंहले घरदैलो कार्यक्रमलाई तिव्रता दिएसंगै उनीप्रति मतदाता निकै आकर्षित भएका छन् ।