चन्द्रपुर । कांग्रेस मधेश प्रदेशले मुख्य १० कामलाई प्राथमिकतामा राखेर आइतबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । रौतहटको चन्द्रनिगाहपुरमा आयोजित एक कार्यक्रमबीच कांग्रेस मधेश प्रदेश कार्य समितिका सभापति कृष्णाप्रसाद यादव, संकल्पपत्र तयारी समितिका संयोजक वृहस्पतिकृष्ण श्रेष्ठ, कोषाध्यक्ष प्रदिप यादव लगायतको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिएको हो ।
कांग्रेस नेतृत्वमा बन्ने प्रदेश सरकारले आगामी ५ वर्षभित्र गर्ने मुख्य १० कामको घोषणापत्रमा चर्चा गरेको छ । घोषणापत्रमा लोकतन्त्र तथा सुशासन, आर्थिक विकास, भौतिक पूर्वाधार, सामाजिक विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन, युवा तथा खेलकुद विकास, दलित जनजाति मुस्लिम तथा पिछडावर्ग उत्थान, अन्तरप्रदेश सम्बन्ध र प्रदेश र संघबीचको सम्बन्धमा विशेष जोड दिइएको छ ।
घोषणापत्रमा सुशासनअन्तर्गत प्रत्येक महिना मुख्यमन्त्री जनता दरबार कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
आर्थिक विकासअन्तर्गत कृषि उत्पादन अभिवृद्धि गर्न र्निब्याजी ऋणको व्यवस्था गर्ने कार्यक्रम अघि सारिएको छ । ‘घरघर खाद्य, खेतखेत सिँचाइ’ भन्ने नारा अघि सार्दै घोषणापत्रमा ग्रामीण कृषि सडक, सिँचाइ, बिउबिजन, कोल्डस्टोर निर्माणलाई प्राथमिकता दिइएको छ । ७० वर्षभन्दा बढी उमेरका व्यक्तिका लागि किसान पेन्सनको व्यवथा गर्ने उल्लेख गरिएको छ ।
५ वर्षको अवधिमा हाल ६०० अमेरिकी डलर रहेको प्रतिव्यक्ति आयलाई १५०० डलर पु¥याउने लक्ष्यसमेत घोषणापत्रमा लिइएको छ । जनकपुर चुरोट कारखानालाई विद्युतीय चुल्हो कारखानाको रुपमा विकास गर्नेसमेत प्रतिबद्धता व्यक्त गरिएको छ । आगामी सरकारले वीरगञ्ज ठोरी, वीरगञ्ज पथलैया, जनकपुर ढल्केवर र गोलबजार लहानमा विशेष आर्थिक क्षेत्र निर्माण गर्ने योजना बनाइएको छ ।
भौतिक पूर्वाधारअन्तर्गत पानी बिजुली र सञ्चारको पहुँच सबै घरमा पु¥याउने, काठमाडौं–निजगढ फास्टट्य्राक निर्माणमा तीव्रता दिन पहल गर्ने, रेल सेवालाई विस्तार गरी राजविराजदेखि वीरगञ्जसम्म पु¥याउने, प्रदेशका सबै विमानस्थलको स्तरोन्नति गर्ने तथा निजगढ विमानस्थल बनाउन पहल गर्ने उल्लेख गरिएको छ ।
मधेसको सारक्षरता अभिवृद्धि तथा व्यावसायिक शिक्षाको प्रवर्द्धन गर्न यो अवधिमा मधेसभित्र इन्जिनियरिङ, चिकित्सा, नर्सिङ, कानुन र ललितकलाका सरकारी कलेज स्थापना गर्ने लक्ष्यसहित शिक्षा क्षेत्रमा घोषणपत्रले ५ वटा नाराहरूसमेत अघि सारेको छ । स्वास्थ्य क्षेत्रअन्तर्गत एम्बुलेन्स, अस्पताल तथा आयुर्वेद अस्पताल निर्माण गरिनेसमेत जनाइएको छ ।
लोसपाको पनि घोषणापत्र सार्वजनिक
सत्ता गठबन्धनसँगै चुनावी अभियानमा होमिएको मधेशवादी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश आन्दोलनसँग जोडिएकै मुद्दालाई चुनावी घोषणापत्रमा समेटेको छ । लोसपाले नागरिकता समस्याको हल र मधेश आन्दोलनमा संलग्नमाथि चलाइएको मुद्दा फिर्तालाई नै चुनावी अस्त्र बनाएको छ ।
महोत्तरीको जलेश्वरमा आइतबार लोसपाको चुनावी घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनका एजेन्डा अझै पूरा नभएकाले त्यससँग जोडिएकै मुद्दालाई घोषणापत्रमा समेटिएको बताए । ‘मधेश आन्दोलनको भावनाअनुसार संविधानले पूर्णता पाएको छैन,’ लोसपा अध्यक्ष ठाकुरले भने, ‘संविधान अपूर्ण छ । नागरिकतासम्बन्धी कानुन नै बनेको छैन । १० लाख जनता नागरिकताविहीन छन् । हाम्रो घोषणापत्रमा मधेसकै समस्या, एजेन्डा र मुद्दालाई प्राथमिकतामा राखिएको छ ।’ नेता ठाकुरले मधेसी जनता अझै विभेदमुक्त हुन नसकेको दाबी गरे । यसअघि शनिबार जनता समाजवादी पार्टी(जसपा) ले पनि चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो । प्रमुख दलहरु भने यसअघि नै घोषणापत्र सार्वजनिक गरेर चुनावमा होमिसकेको छ ।