काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवद्र्धनाले नेपाल र श्रीलंकाबीच ऐतिहासिक र धार्मिक सम्बन्ध रहेको बताएका छन् । दक्षिण एसियाका नेपाल, भारत र श्रीलंकका पत्रकारहरूसँगको भेटमा प्रधानमन्त्री गुणवद्र्धनाले श्रीलंकामा करिब ७२ प्रतिशत बुद्ध धर्मावलम्बी रहेको र नेपालको लुम्बिनी बुद्धको जन्मस्थल भएकाले पनि नेपाल र श्रीलंकाबीच धार्मिक सम्बन्ध रहेको बताए ।
‘राम, सीता र रावणका विषय धार्मिक इतिहासमा समेत छ । अझ आस्थाको केन्द्र पशुपतिनाथ नेपालमा छ । यसले पनि दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ’ उनले भने ।
संकटको समयमा छिमेकी देशले गरेको सहयोग प्रसंशनीय भएजस्तै सञ्चारकर्मीले पनि सकारात्मक समाचार सम्प्रेषण गरेर सहयोग गर्नुपर्नेमा उनको जोड थियो । ‘पछिल्लो समय श्रीलंकाको अर्थतन्त्रमा केहि सुधार आएको छ’ उनले भने,‘यहि सत्यतालाई नेपाल, भारत र श्रीलंकाका पत्रकारहरुले जिम्मेवारी पूर्वक सूचना प्रवाह गर्नुपर्ने अपेक्षा राखेको छु ।’ दक्षिण एसिया नेपाल, भारत, श्रीलंकाका पत्रकारहरूको समूहलाई श्रीलंकाको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक स्थितिको बारेमा प्रकाश पार्न र आगामी दिनहरुमा थप पर्यटकहरूलाई श्रीलंका भ्रमण गराउन आमन्त्रित गरिएको हो ।
टोलीमा सहभागी पत्रकार
सम्झना पौडेलका अनुसार यस ‘मिडिया परिचय टुर’ को आयोजना श्रीलंकाली सरकार, टुरिजम प्रोमोसन ब्यूरो श्रीलंका र एशिया मिडिया कल्चर एसोसियसनले गरेको हो । एएमसिएका अध्यक्ष उपुल जानका जय सिंगेले पर्यटन प्रवद्र्धन ब्यूरोकोतर्फबाट मिडिया परिचय टुरले श्रीलंकाको मात्र नभइ एशियाली देशको नै पर्यटन प्रवद्र्धमा सहयोग पुग्ने अपेक्षा राखिएको बताए ।