बलिउड अभिनेता अक्षय कुमार फिल्म उद्योगका सबैभन्दा बढी कर तिर्ने अभिनेता बनेका छन्।
हालै उनलाई आयकर विभाग (इनकम ट्याक्स डिपार्टमेन्ट)ले सम्मान पत्र दिँदै सबैभन्दा बढी कर तिर्ने अभिनेता बताएको छ।अक्षय पछिल्लो चार वर्षदेखि सबभन्दा बढी कर तिर्ने अभिनेता बन्दै आएका छन्। उनले २०१७ मा २९ करोड ५ लाख भारतीय रुपैयाँ कर तिरेका थिए। त्यसअघि २०१४/१५ मा पनि अक्षय सबभन्दा बढी कर तिर्ने अभिनेता बनेका थिए।
यो वर्ष अक्षयले कति कर तिरे भनेर सार्वजनिक गरिएको छैन तर आयकर विभागले अक्षयले सबभन्दा बढी कर तिरेको बताएको छ।सन् २०१८ मा अक्षय विश्वभरकै ७ औं सबभन्दा बढी कमाउने अभिनेता बनेका थिए। फोर्ब्स म्यागेजिनले उनलाई ७ औं नम्बरमा राखेको थियो।
अक्षय एक वर्षमा ४ देखि ६ फिल्ममा काम गर्छन् र उनी महंगो पारिश्रमिक लिने अभिनेता हुन्। भारतीय सञ्चार माध्यमका अनुसार अक्षयले ‘सम्राट पृथ्वीराज’ बाट ६० करोड पारिश्रमिक लिएका थिए।
उनी एक विज्ञापन गरेबापत ८ देखि १० करोड पारिश्रमिक लिन्छन्।
यतिबेला अक्षय टिनू देसाईसँग आगामी फिल्मको छायांकन गरिरहेका छन्। उनी ‘रक्षा बन्धन,’ ‘राम सेतू,’ ‘कठपुतली,’ ‘सेल्फी,’ ‘ओएमजी २,’ ‘क्यापसुल गिल’ र सुर्याको फिल्म ‘सारारई पोटारू’को हिन्दी रिमेक गरी सात फिल्ममा देखिँदैछन्।