काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले बुधबार(भोलि) प्रतिवेदन तयार गर्ने भएको छ ।
सिंहदरबारमा मंगलबार(आज) बसेको समितिको दोस्रो बैठकमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञहरूसमेत बोलाएर सीसीटीभी फुटेजबारे जानकारी लिएपछि भोलि प्रतिवेदन लेख्ने तयारी गरेको हो ।
सीसीटीभी फुटेजका विषयमा विज्ञहरूसँग जानकारी लिएको र सबै विषय प्रतिवेदनमा नै उल्लेख गर्ने समिति सचिव सुरेन्द्र अर्यालले बताउनुभयो । भोलि बस्ने बैठकमा यसबारे फेरि छलफल हुने र प्रतिवेदनमा पनि लेखिने उहाँले बताउनुभएको छ ।
उहाँले अब समितिको म्याद थप गर्न पहल नगरिनेसमेत स्पष्ट पार्नुभयो ।
सुरुमा १० दिनको समय पाएको समितिलाई छानबिनको समय अभाव भएको भन्दै ७ दिन म्याद थप गरिएको थियो ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।