राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिरा कुमारी यादवलाई पालिकाले करिब ६ लाखको मोटरसाइकल उपलब्ध गराएको छ । असार १७ गते उपप्रमुख यादवको लागि नगरपालिकाले मोटरसाइकल खरिद गरेको हो । मोटरसाइकल भने उनको छोराले चलाउने छन् । उपप्रमुख यादवलाई योजनाहरुको अनुगमन गर्नमा समस्या भएको कारण देखाउँदै पालिकाले करिब ६ लाखको मोटरसाइकल खरिद गरेर दिएको छ ।
सरकारले २५० सिसीभन्दा बढीको मोटरसाइकल आयातमा रोक लगाएको अबस्थामा निहित स्वार्थ पूरा गर्न उपप्रमुख यादवले मोटरसाईकल खरिद गरेको हो । सो मोटरसाइकल खरिद गर्न राजविराजस्थित एक अटो मोवाइल कम्पनीको नाउँमा नगरपालिकाले २०७९ असार १७ गते कार्यादेश दिएको थियो । चलानी नं.२३८८ मा दर्ता भएको सो पत्रमा मोटरसाइकल उपलब्ध गराइदिन उल्लेख गरिएको छ ।
कार्यादेशअनुसार १५० सीसीभन्दा कमकै मोटरसाइकल लिनुपर्ने थियो । तर, उपमेयरका छोरालाई अन्य मोटरसाइकलभन्दा पनि ‘वजाज डोमिनार–४००’ मोटरसाइकल नै मन परेपछि आमा (उपमेयर) मार्फत प्रमुख प्रशासकीय अधिकृतलाई शोरुममा फोन गर्न लगाएर सो मोटरसाइकल लगेका हुन् ।
मेयरका प्रतियाशी कृष्णानन्द यादवले निर्वाचित भएको ३ महिना पनि नबित्दै अनावश्यक रुपमा आर्थिक लाभ लिने कार्य गर्नुको साथै आफू चढ्ने मोटरसाइकल पनि हेभी नै खरिद गर्ने जनप्रतिनिधिसँग के अपेक्षा गर्न सकिने भयो। उनले उपमेयर यादव आफ्नो छोराका लागि खरिद ऐनसम्मलाई वेवास्ता गर्दै सो मोटरसाइकल खरिद गरेको आरोप लगाए ।
उता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवले आफुले १५० सीसीसम्मको मोटरसाइकल खरिद गर्न पत्र (कार्यादेश) दिएको बताए । उपमेयर ज्यूलाई अनुगमन स्थलहरुसम्म पुग्नका लागि सवारी थिएन, त्यसैले उहाँको लागि १५० सीसीसम्मको मोटरसाइकल खरिद गर्न हामीले पत्र बनाइदिएका थियौं ।