जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीले राजनीतिबाट प्रभावित भएर पालिकालाई अस्तव्यस्त पार्न खोजेको स्थानीयले आरोप लगाएका छन् । उच्च अदालत जनकपुरको आदेशलाई टेकेर हाजिर भएदेखि नै उनी विवादमा मुछिएका हुन् । कार्यालय गएदेखि मेयर रामज्ञान मण्डल विरुद्ध अभियान नै चलाएको आरोप स्थानीय युवाहरुले लगाएका छन् । उनी हाजिर भएदेखि नै मेयर निकटका जनप्रतिनिधि र कर्मचारी विरुद्धका क्रियाकलापहरु गर्दै आएका हुन् ।
गएको धनवन्तरी दिवसको दिन मेयर मण्डलको अनुपस्थितिमा कार्यपालिकाको बैठक गरेर कानून विपरित विभिन्न विवादित निर्णयहरु गराएर उनले जनप्रतिनिधिको गरिमामा नै आँच आउने कार्य गरेको वडा नं. ३ का वडाध्यक्ष उदय सिंहले जनाए । वडाध्यक्ष सिंहका अनुसार प्रमुख प्रशासकीय अधिकृत अधिकारीले निहीत स्वार्थ पूरा गर्नको लागि आर्थिक सहयोग सम्बन्धी विभिन्न निर्णय गरेका हुन् ।
उनले भ्रमणको लागि छुटट्याएको पाँच लाख रुपैयाँ जनही २५ हजारको दरले नगद वितरण गर्ने निर्णय गराएको आरोप वडाध्यक्ष सिंहले आरोप लगाए । उनले मेयर मण्डलसित प्रतिसोध साध्न हिजो मात्रै चार जना नगर प्रहरीलाई हटाएका छन् । प्रक्रिया पूरा गरेर भर्ना गरिएको नगर प्रहरीलाई हटाएर उनले आप्mनो निकटका व्यक्तीहरुलाई काममा लगाएको नगर प्रहरी मुकेश राउतले आरोप लगाए । काममा लगाएका व्यक्तिहरुलाई उनी सुरक्षा गार्डको रुपमा संगै राखेका छन् ।
सेवाग्राहीसित विवादका कारण पनि उनी पटक पटक विवादमा तानिदै आएका हुन् । प्रशासनिक जिम्मेवारी सम्हाल्न गएका अधिकारीले राजनीति कार्यक्रमहरुमा समेत सहभागि हुँदै आएका छन् । सम्बन्धित वडाका वडाध्यक्ष समेतलाई जानकारी नदिई कुर्सी वितरण र शिलान्यास गरेर उनी विवादित बनेका हुन् । निर्वाचित जनप्रतिनिधिलाई बाईपास गरेर उनी राजनीतिक अड्चन खडा गर्न खोजेको आरोप वडाध्यक्षहरुले लगाए । सुरक्षाको हवाला दिदै आएका उनी आपैm हंसपुर नगरपालिका वडा नं. ७ स्थित सुनसान स्थल साबिकको क्वारेन्टाइनमा बस्दै आएका छन् ।