एजेन्सी
जनकपुरधाम ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समावेशी सरकार गठन नभए अफगानिस्तानमा पुनः गृहयुद्ध चर्किने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री खानले बीबीसीसँगको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘यदि उनीहरूले सबै समूहलाई सामेल गरेनन् भने कुनै पनि बेला गृहयुद्ध सुरु हुनेछ’, उनले भने ।
खानले गृहयुद्ध सुरु भएमा अफगानिस्तान अस्थिर र अस्तव्यस्त हुने भन्दै चिन्ता व्यक्त समेत गरेका छन् । ‘यस (गृहयुद्ध) को अर्थ अफगानिस्तान अस्थिर, अस्तव्यस्त हुने र आतंकवादीका लागि उपयुक्त स्थान बन्ने हो’, खानले थपे, ‘जुन चिन्ताको विषय हो ।’
तालिबान नेतृत्वले केही शर्तहरु पूरा गरेपछि मात्रै आफूहरुले उनीहरुको सत्तालाई मान्यता दिने समेत खानले बताएका छन् । समावेशी सरकार गठन, मानव अधिकार तथा महिला अधिकारको सम्मान गरे मात्रै नयाँ सत्तालाई पाकिस्तानले मान्यता दिने खानको भनाइ थियो । खानले पाकिस्तानको सुरक्षामाथि खतरा निम्त्याउन सक्ने आतंकवादीका लागि अफगानिस्तान आश्रयस्थल बन्न नहुने तर्फ पनि तालिबान सजग हुनु पर्ने बताएका छन् ।
त्यस्तै, खानले अफगानी महिला एवं बालिकालाई शिक्षा हासिल गर्नबाट रोक्ने कार्य गैर-इस्लामिक भएको बताए । तालिबानले हालै बालिका/किशोरीलाई विद्यालय जानबाट रोकेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
खानले बालिकाहरु चाँडै नै विद्यालय जान सक्ने अवस्था सिर्जना हुनेमा आफू आशावादी रहेको पनि बताए । ‘सत्तामा आएपछि उनीहरु (तालिबान) ले दिएका अभिव्यक्ति निकै उत्साहजनक छन्’, खानले भने, ‘उनीहरुले महिलालाई विद्यालय जान दिनेछन् भन्ने मेरो धारणा छ । महिलाले शिक्षा हासिल गर्नु हुन्न भन्ने कुरा इस्लामविपरीत छ । धर्मसँग यसको कुनै सम्बन्ध छैन ।’